धनगढीमा क्रिकेटको क्रेज !

धनगढी, १० चैत : क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ ।

पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि पछिल्लो समय बढेको क्रिकेटको ‘क्रेज’ले सो भनालाई गलत सावित गर्दै क्रिकेट खेल्ने र हेर्ने दर्शक पनि बढाइदिएको छ । “चार दिवसीय वा पाँच दिवसीय क्रिकेट प्रतियोगिता हुने समयमा यस्तो धारणा समाजमा थियो”, पूर्वक्रिकेटर धरम खड्काले भन्नुभयो, “एक दिवसीय र २०/२० खेल खेल्ने चलनसँगै यो धारणा अब पुरानो भइसकेको छ ।”

खड्काले अप्रत्यक्ष रुपमा भए पनि क्रिकेटको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले धनगढीको वनदेवी रोडमा सञ्चालन गर्नुभएको ‘द क्रिकेट क्लासिक होटेल’मा प्रवेश गर्दा त्यहाँका टेबल, क्याविन र सुत्ने कोठा क्रिकेटको अवधारणमा तयार पारिएको देख्न सकिन्छ । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम बढ्दै गएका छन् । हालै कैलालीको अत्तरियामा सर्वाधिक धनराशि पुरस्कार भएको महिला क्रिकेट प्रतियोगिता तथा क्लब र विद्यालयस्तरीय थुप्रै प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यसका लागि प्रशिक्षक राखेकाले आगामी दिनमा क्रिकेटको व्यावसायिक थलोसमेत धनगढी बन्ने सम्भावना बढेको छ । क्रिकेटको विकास र बिस्तारका लागि धनगढी र खास गरी प्रदेश नं ७ का बिभिन्न जिल्लामा एक दर्जन बढी क्रिकेट एकेडेमीसमेत सञ्चालनमा आइसकेको छ । खेल व्यावसायिक रुपमा अघि बढ्न सक्ने सम्भावना रहेको खेलप्रेमी चेतराज ओझा बताउनुहुन्छ ।

क्रिकेटप्रति बढेको आकर्षणसँगै टोलैपिच्छेका बालबालिका र विद्यालयका छात्रछात्रा फुर्सदको समयमा आफ्नो घर वरिपरिको खाली चौर, बाटो र खेतमा क्रिकेट खेल्न तम्सिएका देखिन्छन् । धनगढी नगरपरिषद्को बैठकले पनि दुई वर्षअघि धनगढीलाई क्रिकेटको शहरका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

प्रदेश नं ७ क्रिकेटको उर्वरभूमि

क्रिकेटको उर्वरभूमि मानिने प्रदेश नं ७ ले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ ।

सो क्षेत्रले भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलीपनाथलगायत क्रिकेट खेलाडी जन्माइसकेको छ । यस्तै ‘अण्डर १९’ टोलीमा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुबोध ऐरलगायत खेलाडी यसै प्रदेशका हुन् ।

डिपिएलको तयारी

क्रिकेटको शहर धनगढीमा यही चैत १७ देखि शुरु हुन लागेको देशकै सर्वाधिक धनराशि पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)को तयारी हुँदैछ । सो प्रतियोगितामा भाग लिने सबै समूहमा खेलाडीको ‘अक्शन’ गर्ने काम पूरा भइसकेको छ भने मैदान तथा कालोपत्र तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

धनगढी उपमहानगरपालिका–३ मोहना नदी छेउको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ ‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत शुरु गरिएको डिपिएल क्रिकेटको यस वर्ष दोस्रो संस्करण हुँदैछ । “ड्रिम फाप्लामा पुग्ने सिंढी नै डिपिएल हो”, डिपिएलका आयोजक एवं धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले भन्नुभयो, “यसबाट फाप्ला मैदानलाई क्रिकेटको अन्तर्राष्ट्रिय मैदान बनाउन सरकारका निकायमा दवाव पुगेको महसुस भएको छ ।” एक वर्षअघि ‘ड्रिम फाप्ला’ अभियानको नेतृत्व गरेका शाही भन्नहुन्छ, “सबैको उत्साह देखेर हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, यो अभियान सफलतामा पुगिछाड्ने छ ।”
क्रिकेटका गतिविधि बढ्दै गए पनि यस क्षेत्रमा क्रिकेट खेल्न स्तरीय खेल मैदानको अभाव शुरुदेखि नै खड्किएको छ । डिपिएललगायत क्रिकेट गतिविधिले विशेष गरी नयाँ पुस्ता र व्यवसायीमा बेग्लै खाले उत्साह पनि देखिन थालेको स्थानीयवासी क्रिकेटप्रेमी बताउँछन् ।

‘ट्यालेन्ट हन्ट’बाट खेलाडी छनोट

डिपिएलमा स्थानीय खेलाडीलाई स्थान दिन आयोजकले प्रतियोगितामा भाग लिने प्रत्येक समूहमा एक÷एक जना स्थानीय खेलाडी सहभागी गराउनुपर्ने मान्यता राखेर हालै ‘ट्यालेन्ट हन्ट’(प्रतिभा छनोट) विधि अपनाएर खेलाडी छनोट गरेको छ । यस्तो छनोटबाट पहिलो पटक डिपिएलमा सहभागी हुनेछ टिममा छ स्थानीय खेलाडीले सहभागी हुन पाउने मौका पाएका छन् ।

‘ट्यालेन्ट हन्ट’ मार्फत खेलाडी छनोट गर्दा एक खेलाडीको बढीमा रु २५ हजारको बोली लाग्दा स्थानीय खेलाडीले पहिलो पटक आम्दानी गर्ने अवसर पनि पाएका छन् ।

डिपिएललाई आइसिसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यहाँ आयोजना हुन लागेको ‘रुस्लान धनगढी प्रिमियर लिग’(डिपिएल)को दोस्रो संस्करणलाई मान्यता दिएको छ । आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको नभई नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाइ हासिल गरेको छ । उक्त प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीको सहभागिता रहने जनाइएको छ ।

नेपालमा सर्वाधिक पुरस्कारको राशि भएको प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख, तेस्रो हुने टोलीले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउने जनाइएको छ । क्रिकेट इतिहासमा नेपालले एक दिवसीय मान्यता पाउन सफल भएपछि क्रिकेटको शहर धनगढीमा खुशीयालीस्वरुप केही दिनअघि खेलप्रेमीले विजय जुलूस र दीप प्रज्वलन गरेका थिए ।-रासस

ट्रान्सफर चर्चा : बार्सा, रियल र पिएसजीको नजरमा सलाह

लिभरपुल (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले जनाएको छ ।

सलाह यस सिजन करियरकै उच्च लयमा छन्। उनले यो सिजन ४३ खेलमा क्लब र राष्ट्रिय टोलीमा गरेर ३७ गोल गरिसकेका छन्। रोमाबाट ३६.९ मिलियन पाउण्डमा लिभरपुल आएका सलाहलाई प्रिमियर लिगमा राख्न यर्गन क्लोपले कीर्तिमानी रकम अस्वीकार गर्नु पर्नेछ।

यहि जनवरी ट्रान्सफर विन्डोमा आफ्ना स्टार खेलाडी फिलिप कौटिन्होलाई १ सय ४५ मिलियन पाउण्डमा गुमाएको लिभरपुलले सलाहलाई पनि क्लबमा राख्न नसक्ने खतरा बढेको हो।सलाहलाई ‘इजिप्टसियन मेस्सी’को उपनामले पनि चिनिने गर्दछ । उनले अहिलेसम्म यो सिजन लिग फुटबलमा लियोनल मेस्सी भन्दा ३ गोलले अगाडि छन् ।

रुसमा हुने विश्वकप नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन्छु- मेस्सी

काठमाडौँ । अर्जेन्टिनाको स्टार खेलाडी लिओनल मेस्सीले रुस हुने विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने दावी गरेका छन् । रुस हुने विश्वकप अर्जेन्टिनाले नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मेस्सीले बताएका छन् ।

मेस्सीले अर्जेन्टिनी टीभीसँग भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’ उनले भने, ‘मेरो सपना छ रुसमा उपाधि जित्ने । मेरो चाहना छ कि ब्राजिलमा जस्तै खेल्ने ।’

बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन् । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए । तर, फेरि टिममा फर्किएका छन् ।

अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । यो पटक रुसमा विश्वकप हुँदै गर्दा मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

मेस्सीलाई सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन् । उनले २१ वर्षको उमेरमा नै बेलोन डी ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरेका थिए । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ ।

पोर्चुगल वर्ष खेलाडीमा रोनाल्डोको ह्याट्रिक

लिस्बोन (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘२०१७ पोर्चुगल वर्ष खेलाडी’ को उपाधि जितेका छन्। ३३ वर्षे पोर्चुगेली फरवार्ड रोनाल्डोको यो लगातार तेस्रो उपाधि हो।

‘क्विनास डी ओरो’ नामक यो उपाधि तीन वर्ष अगाडी सुरु भएयता तीनै पटक रोनाल्डोले जितेका हुन् । उनले यसपटक म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा र स्पोर्टिंङका रुई प्याट्रिसियोलाई पछि पार्दै यो उपलब्धि हात पारेका हुन्। प्याट्रिसियोले कुल मतको १८ प्रतिशत प्राप्त गरेका थिए भने सिल्भाले १७ पाउँदा रोनाल्डोले ६५ प्रतिशत मत पाएका हुन् । प्रशिक्षक, समर्थक र खेलाडीहरुको मतका आधारमा वर्ष खेलाडी चयन गरिन्छ।

पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न समारोहमा यस अवार्ड पाएपछि रोनाल्डोले भने , “यो मेरो मात्र नभएर मेरा सारा सहकर्मीको सफलता हो । २०१७ अविस्मरणीय रह्यो । म यस उपलब्धि मेरा ४ बच्चाहरुलाई समर्पित गर्दछु। ” “तीन महिनामा तीन बच्चाहरु, यो पनि आफैंमा किर्तिमान हो, ” रोनाल्डोले ठट्टा गरे ।

नेयरमार पिएसजीमै रहने सिल्भाको विश्वास

पेरिस (एजेन्सी)– चोटका कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार मैदान बाहिर छन् । तर पनि उनी अर्को सिजन रियल म्याड्रिड जाने सम्भावनाको चर्चा भने केहि महिना यता चलिरहेको छ । उनी मैदान बाहिर हुँदा पनि चर्चा रोकिएको छैन ।

तर, पिएसजीका कप्तान थियागो सिल्भाले भने नेयमार तत्काल कुनै क्लबमा नजाने दाबी गरेका छन् । ब्राजिलियन स्टार सिजनको सुरुवातमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । उनले पिएसजीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

तर, नेयमार पिएसजीमा सन्तुष्ट नरहेको र पुनः स्पेन फर्कन चाहेको चर्चा चलिरहेको छ । क्रिस्टियानो रोनाल्डो रहँदैको अवस्थामा नेयमार भित्राउन रियललाई पनि सजिलो नहुने चर्चा पनि चल्दै आइरहेको छ ।

पिएसजी पनि नेयमार अन्य क्लबलाई बेच्ने पक्षमा देखिदैन । चोट मुक्त हुनका लागि नेयमार अहिले स्वदेशमा उपचार गराइरहेका छन् । नेयमारको अनुपस्थितिमा पनि पिएसजीले लिग १ मा उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । सिल्भालाई भने नेयमार पिएसजीमै रहनेमा विश्वस्त छन् ।

“नेयमार बस्नेमा म निश्चिन्त छु,” सिल्भाले भने, “उनी अहिले चोटमुक्त हुने क्रममा ब्राजिलमा छन् । मलाई लाग्छ अर्को सिजन पनि उनी पिएसजीमै रहनेछन् ।” रियालमा उनका ब्राजिलियन सहकर्मी मार्सेलो र कासिमेरो रहेकाले रियल आउँदा उनलाई सहज हुने पनि मानिएको छ ।

विश्व कप नजिते सन्यास लिने मेस्सीको संकेत

Messi - EsportsKhabar

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अर्जेन्जिनाले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् ।

 

सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना उपाधिबाट विमुख भएको थियो । थप समय सम्म पुगेको विश्व कप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यति मात्र होइन, मेस्सी सम्मिलित अर्जेन्टिना ३ पटक कोपा अमेरिकाको फाइनलमा पराजित भइसकेको छ ।

ला कोनिसासँगको अन्र्तवार्ताका क्रममा मेस्सीले भनेका छन्, ‘यदि हामीले रसिया विश्व कप जित्न सकेनौं भने हामीले राष्ट्रिय टोलीबाट अलग हुनु ठिक हुन्छ । हामी त्यस्तो सच्छौं । रसियामा उपाधि जित्ने सपना मैले देखेको छु ।’

विश्व कपको समूह डीमा अर्जेन्टिनाले आइल्यान्ड, क्रोएसिया र नाइजेरियाको सामना गर्नेछ । राष्ट्रिय टोलीबाट १ सय २३ खेल खेलेका मेस्सीले ६१ गोल गरेका छन् ।

विश्वभरबाट नेपाली क्रिकेटलाई बधाईको ओइरो

काठमाडौँ । बिहिबार नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । जिम्बाब्वेमा जारी विश्व कप क्रिकेट छनौट प्रतियोगितामा पपुआ न्यूगिनीलाई हराउदै एकदिवसीय टोलीको मान्यता पाएपछि संसारभरबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई र स्याबासी पाइरहेको छ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपालले क्रिकेट टिमको चर्चा प्रमुख विषय बनिरहेको छ। देश विदेशका चर्चित व्यक्तिहरू र क्रिकेट सम्बद्ध निकायहरूले नेपालको सफलताको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

नेपाली क्रिकेट टोलीलाई सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड , शेरबहादुर देउवा र बाबुराम भट्टराई सहित कैयौँ अन्यले सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपालको उपलब्धिलाई ऐतिहसिक भन्दै नेपाली खेलाडीहरूले खुशी मनाइरहेको क्षणलाई आफ्नो ट्वीटर र फेसबुक खाताको मुख्य तस्वीर बनाएको छ।

बांग्लादेश र संयुक्त राज्य अमेरिका सहितका देशका क्रिकेट बोर्डहरू नेपाललाई बधाई दिएका छन् । विश्व क्रिकेटमा नाम चलेका कैयौँ खेलाडीहरूले नेपाली टोलीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरू राखेका छन्।

अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सम्बोधन गर्दै ट्वीटरमा आफूलाई खुशी लागेको र यो नेपालको लागि गौरवपूर्ण क्षण भएको उल्लेख गरेका छन्।

त्यसैगरी पाकिस्तानका पूर्व कप्तान इन्जमाम उल हकले नेपाललाई बधाई दिँदै लेखेका छन्, ‘एकदिवसीय मान्यता पाएकोमा नेपाललाई बधाई, कति लोभलाग्दो यात्रा।’

आयरलण्डका चर्चित क्रिकेटर केभीन ओ ब्रायनले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सम्बोधन गर्दै बधाई दिएका छन्। उनले लेखेका छन्, ‘ आफ्नो र नेपालको पहिलो प्रतियोगिताको प्रतीक्षा गरिरहेको हुनेछु।’

सन्दीपको भारतीय व्यवसायिक क्रिकेट लिग आइपिएल टोली दिल्ली डेयरडेभिल्सले पनि एकदिवसीय हैसियतका लागि नेपाललाई बधाई दिएका छन्।

यी हुन् च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुग्न सफल ८ टोली

नियोम (एजेन्सी) – गए राति बार्सिलोनाले चेल्सीलाई ३-० तथा बायर्न म्युनिखले बेसिक्टासलाई ३-१ ले हराउँदै च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेका छन् ।

यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका छन् भने जर्मनीबाट १ टोलीले अन्तिम १६ मा प्रतिनिधित्व गर्दै छन् । यस सिजन फ्रान्सबाट कुनै टोलीले अन्तिम ८ मा स्थान बनाउन सकेन । च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि ड्र शुक्रबार नेपाली समय अनुसार बेलुका ४.४५ बजे हुने छ ।

यस वर्ष क्वाटरफाइनलमा पुग्न सफल टोलीहरु यी हुन्:

१. रियल म्याड्रिड
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: पिएसजी विरुद्ध समग्रमा ५-२ ले विजयी

२ लिभरपुल
राष्ट्र: इंग्ल्यान्ड
अन्तिम १६ नतिजा: पोर्टो विरुद्ध समग्रमा ५-० ले विजयी

३ युभेन्टस
राष्ट्र: इटाली
अन्तिम १६ नतिजा: टोटनह्याम विरुद्ध समग्रमा ४-३ ले विजयी

४. म्यानचेस्टर सिटी
राष्ट्र: इंग्ल्यान्ड
अन्तिम १६ नतिजा: बासेलविरुद्ध समग्रमा ५-२ ले विजयी

५. रोमा
राष्ट्र: इटाली
अन्तिम १६ नतिजा: शाक्तार दोनेस्क विरुद्ध समग्रमा २-२, अवे गोलमा विजयी

६. सेभिया
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: म्यानचेस्टर युनाइटेड विरुद्ध समग्रमा २-१ ले विजयी

७. बायर्न म्युनिख
राष्ट्र: जर्मनी
अन्तिम १६ नतिजा: बेसिक्टास विरुद्ध समग्रमा ८-१ ले विजयी

८. बार्सिलोना
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: चेल्सीविरुद्ध समग्रमा ४-१ ले विजयी

नेपालले एकदिवसीय मान्यता पाए पनि यी देशसँग खेल्न पाउने छैन

काठमाडौं – जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ ।

अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ । चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ । यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ ।

तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन । किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन् । नेपाल एसोसिएटका तर्फबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ ।

त्यसैले, अस्ट्रेलिया तथा भारतजस्ता टेस्ट मान्यताप्राप्त टिमसँग एकदिवसीय क्रिकेट खेल्न पनि आइसिसी र सम्बन्धित बोर्डको स्वीकृति पाउनुपर्छ । एसिया कपमा भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीसँग सीधै प्रतिस्पर्धा हुनेछ ।

एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रूपमा नेपालले आइसिसीबाट अब प्रतिवर्ष ७ देखि ८ करोड रुपैयाँ प्राप्त गर्छ । यो रकम क्रिकेटका स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

नेपालको अब एक दिवसीय खेल खेल्न पाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ ।

नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालको एक दिवसीय मान्यता सुनिश्चित भएको हो । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगबाटै एक दिवसीय मान्यता सुनिश्चित गरेको थियो ।

विश्वकप छनोट प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने थिए । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका थिए । हङकङको पराजयसँगै नेपाल एक दिवसीय मान्यता पाउने तेस्रो राष्ट्र हुन सफल भएको हो ।

एक दिवसीय मान्यता नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धिमध्ये एक हो । अबको ४ वर्षसम्म विश्व क्रिकेट लिग, एसियन कप र इन्टर कन्टिनेन्टल कप जस्ता ठूला प्रतियोगिताहरुमा सहभागी भई नेपालले अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छ । त्यस्तै नेपालले आइसीसी एक दिवसीय वरियतामा पनि स्थान पाउने छ ।