रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पिएसजी पराजित

पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिडले पिएसजीलाई २-१ ले पराजित गरेको छ । पहिलो लेगमा ३-१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५-२ को जित हांसिल गर्न सफल भयो ।

पहिलो हाफमा दुवै टोलीले थुप्रै मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकेका थिएनन् । त्यस्तै खेलको ५१ औं मिनेटमा लुकास भाजक्वेजको पासमा रियलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा पिएसजी १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफमा एउटा पहेंलो कार्ड पाएका मार्को भेराइटीले दोस्रो हाफमा अर्को कार्ड पाउँदै मैदान छोडेका थिए । ७१ औं मिनेटमा घरेलु टोलीले एक गोल फर्काउन सफल भएको थियो । थियागो सिल्भाको हेडर एडिन्सन काभानीलाई लागेर बलले पोस्टको दिशा लिएको थियो ।

त्यसै गरी खेलको ८० औं मिनेटमा मिडफिल्डर क्यासेमिरोको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि रियलले आफ्नो जित सुनिश्चित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित पारेको हो ।

रुपन्देहीलाई पराजित गर्दै पुलिस क्लब झापा गोल्डकपको क्वाटरफाइनलमा

झापा । रुपन्देही ११ लाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब झापामा जारी तेस्रो झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धामा रुपन्देहीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ८३ औं मिनेटमा पुलिसका तर्फबाट रेजिन सुब्बाले गरेको गोल नै निर्णयक बन्यो । खेलको म्यान अफ द म्याच पुलिसकै सुमन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

सोमबार अर्को विभागीय टोली शसस्त्रप्रहरीको एपीएफ क्लब र रुस्लान थ्रि स्टारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

इग्लिस प्रिमियर लिग: सिटीले चिरप्रतिद्वन्द्वी चेल्सीलाई पराजित

एजेन्सी । इग्लिस प्रिमियर लिगको खेलमा म्यान्चेस्टर सिटीले चिरप्रतिद्वन्द्वी चेल्सीलाई पराजित गरेको छ । सिटीले चेल्सीलाई एक शून्य गोलअन्तरले पराजित गरेको हो ।

गएराति भएको खेलमा जित हाँसिल गरेसँगै सिटीले उपाधि यात्रा थप मजबुत बनाएको छ । घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा बेर्नार्डो सिल्भाको एकमात्र गोल निर्णायक बन्यो । करिब ५५ हजार दर्शक माझ भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

तर, ४६ औं मिनेटमा चेल्सी विरुद्ध डेविड सिल्भाको पासमा बेर्नार्डोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले खेलमा फर्किन धरै प्रयास गरेपनि सफल हुन सकेन । जितसँगै म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अग्रता १८ अंकमा पुरयाएको छ । सिटीको ७८ अंक भएको छ भने लिभरपुलको ६० अंक छ ।

युनाइटेडको उत्कृष्ट पुनरागमन

लण्डन (एजेन्सी)– निमान्या म्याटिचले इन्जुरी समयमा गोल गरेपछि २ गोलले पछि परेको खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा गएराती क्रिस्टल प्यालेसलाई ३–२ ले हराएको छ ।

एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टको गोलमा ४८ मिनेटमा प्यालेसले २–० को अग्रता लिएको थियो । ५५ औं मिनेटमा रक्षक क्रिस स्मलिङले एन्टोनियो भ्यालेन्सियाको क्रसमा हेड गोल गर्दै खेलमा फर्काउने कोशिस गरेका थिए । रोमेलु लुकाकुले प्रिमियर लिगमा ९९ औं गोल गरेपछि युनाइटेडले खेलमा २–२ को बराबरी गरेको थियो ।

त्यसपछि प्यालेसका क्रिस्टियन बेन्टेकेको हेडप्रहारलाई युनाइटेडका गोलकिपर डेभिड डी गेयाले रोक्दै टोलीको संकट टारेका थिए । अर्को तिर इन्जुरी समयमा म्याटिचले गोल गर्दै युनाइटेडलाई जित दिलाए । जितपछि युनाइटेड पुनः अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

शीर्षस्थानको म्यानचेस्टर सिटीको ७८, युनाइटेडको ६२ र तेस्रो स्थानको लिभरपुलको ६० अंक छ । २७ अंक मात्र रहेको प्यालेस रेलिगेसन क्षेत्रमा छ ।

मेस्सीको ६ सय गोल, हेर्नुहोस उनको गोलको तथ्य

बार्सिलोना (एजेन्सी) – एथ्लेटिको म्याड्रिडसँगको १-० को जित मा फ्री किक मार्फत निर्णायक गोल गरेका लियोनल मेस्सीले आफ्नो करियरको ६ सय गोल पनि पुरा गरेका थिए । करिब ३० यार्डबाट उत्कृष्ट गोल गर्दै मेस्सीले ६ सय गोल पुरा गरेका थिए ।

बार्सिलोनाको लागि ५ सय ३९ गोल गरेका उनले अर्जेन्टिनाका लागि ६१ गोल गरेका छन् । हेरौं उनको गोलहरुको केही रोचक तथ्य ।

१. मेस्सीले सेभिल्लालाई सबै भन्दा धेरै गोल गरेका छन् । सेभिल्ला विरुद्ध मेस्सीको नाममा २९ गोल छ ।

२. ला लिगाको इतिहासमा धेरै क्लबलाई गोल गर्ने किर्तिमान अर्जेन्टिनी स्ट्राइकर मेस्सीको नाममा छ । उनले ३६ भिन्न टोलीलाई गोल गरेका छन् ।

३. उनको ६ सय मद्धे १ सय ४८ गोल ७६ देखि ९० मिनेटको बीचमा छन् ।

४. बार्सिलोनाका पूर्व सहकर्मी ड्यानी अल्भेसले मेस्सीको गोलमा अन्य खेलाडी भन्दा धेरै असिस्ट गरेका छन् । अल्भेसले मेस्सीले गरेको ४२ गोलमा असिस्ट गरेका छन् ।

५. उनले ला लिगा र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा ६ सय गोल गरेका हुन् । त्यसबाहेक बार्सिलोनाको दोस्रो टोलीसँग तेस्रो डिभिजनमा ५ गोल तथा दोस्रो डिभिजनमा मेस्सीले ६ गोल गरेका छन् । त्यस्तै अर्जेन्टिनाबाट उमेर समूहको खेलहरुमा उनले १६ गोल गरेका छन् । मेस्सीको नाममा कुल ६ सय २७ गोल छन् ।

एथ्लेटिको विरुद्धको जितमा मेस्सीको फ्री किक निर्णायक

बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । मेस्सीले ३० यार्डबाट फ्री किक मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिना र बार्सिलोनासँग गरेर मेस्सीको यो ६ सयौं गोल हो ।

बार्सिलोनाले पहिलो हाफमा खेलमा पूर्ण नियन्त्रण राखेको थियो । दोस्रो हाफमा भने एथ्लेटिकोले पोजेसन राखे पनि गोल गर्न भने सकेन । खेलको ७६ औं मिनेटमा स्वारेजले गोल गरे पनि रेफ्रीले अफसाइडका कारण गोल मानेन । त्यस्तै गेमेरोको ८६ औं मिनेटको गोल पनि अफसाइड भएका कारण बार्सिलोनाले ३ अंक पाएको हो ।

रोनाल्डोको दुई गोलमा रियल म्याड्रिड विजयी

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा गेटाफेका डिफेन्डरहरुलाई छल्लाउँदै आफ्नो बलियो प्रहारलाई गोलमा परिणत गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल भने गेटाफेले पनि एक गोल फर्कायो । खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सिस्को पोर्टिल्लोले परिणत गर्दै गेटाफेलाई खेलमा फर्किने आशा दिलाएका थिए ।

तर ७८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडिङ गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै रियलको २७ खेलमा ५४ अंक रहेको छ । अब रियलले मंगलबार राति च्याम्पियन्स लिगमा पिएसजीको सामना गर्ने छ । पिएसजीले पनि गए राति आफ्नो घरेलु लिगमा ट्रोयेसमाथि २-० को जित निकालेको छ ।

‘पिएसजी जानु नेयामारको रियल जानु अघिको एउटा कदम’

बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी ) जानु भनेको रियल म्याड्रिड पुग्नका लागि एक कदम अघि बढ्नु हो भन्ने बार्सिलोनाका पूर्व अध्यक्ष लार्पोटाले बताएका छन् ।

ब्राजिलियन सुपर स्टार सिजिनको सुरुआतमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । त्यहाँ पुगेयता नेयरमा रियल जाने चर्चा चल्दै आएको छ । लार्पोटाले नेयमार पिएसजी जानुलाई रियल जानुअघिको एउटा बाटो भएको बताएका छन् । नेयमारको चोट तथा पिएसजी र रियलबीचको च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको बारेमा पनि उनी बोलेका छन् । अन्तर्वार्ताका क्रममा लार्पोटाले भने, ‘उनी पिएसजी जानु रियल जानुअघिको एउटा कदम हो । समयले सबै बताउनेछ ।’

नेयमार खेल जीवनको उच्च विन्दुमा रहेको उल्लेख गर्दै पूर्व अध्यक्षले भने, ‘उनी बलोन डी’ओर जित्न चाहन्छन् । त्यसका लागि उनलाई त्यस्तो क्लब आवश्यक पर्दछ, जहाँ उनी स्टार हुन सक्दछन् ।’ लार्पोटाले नेयमारको चोटमा पनि दुःख व्यक्त गरे । ‘उनका लागि मलाई दुःख लागेको छ । उनी पिएसजीका महत्वपूर्ण खेलाडी हुन्,’ उनले भने,’ पिएसजीले पहिलो लेगमा ३–१ ले गुमाइसकेको छ, त्यसका कारण पनि नेयमारलाई टोलीले मिस गर्नेछ ।’

ग्रिजम्यान एक्लैले गरे चार गोल, बार्सिलानोमाथि दबाव कायमै

१७ फागुन, काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेगानेसमाथि सहज जित हात पारेको छ ।

जितसँगै एथ्लेटिकोले लिग लिडर बार्सिलोनामाथि दबाव कायमै राखेको छ । बार्सिलोना ४ अंकले अगाडि छ र एक खेल कम खेलेको छ ।

बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले लेगनेसमाथि ४-० को जित हात पारेको हो ।

सबै गोल ग्रिजम्यानले गरे । २६ औं मिनेटमा घरेलु टोलीको खाता खोलेका उनले ३५ औं मिनेटमा दोस्रो गोल गरे । ५६ औं मिनेटमा उनले हृयाट्रिक पूरा गरेका थिए ।

खेलको ६७ औं मिनेटमा चौथो गोल गरे । उनको एक गोल अफसाइड रहृयो भने एउटा प्रहार बारमा लागेको थियो ।

लगातार ८ खेल जितेको एथ्लेटिको मड्रिड आगामी आइतबार नाउक्याम्प जानेछ र, यो खेलले उपाधि होड तय गर्नेछ ।

टोटेनह्यामको जितमा लोरेन्टेको ह्याट्रिक, सनको दुई गोल

लन्डन (एजेन्सी) – एफए कपको तेस्रो राउन्डको रिप्ले खेलमा टोटेनह्यामले तेस्रो डिभिजनको रोचडेललाई ६-१ ले हराएको छ । स्पर्सको जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने ह्युङ्ग-मिन सनले पनि दुई गोल गरे ।

प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेससँग खेलेको टोलीमा ९ परिवर्तन गरेको स्पर्सले खेलको सुरुआती समयमा एरिक लामेलाको गोलमा अग्रता लिएपनि भिडियो असिस्टटेन्ट रेफ्री (भार) ले उक्त गोल मानेन ।

खेलको २३ औं मिनेटमा सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यस्तै ३१ औं मिनेटमा स्टेफेन्स मर्फिसले रोचडेललाई बराबरी गोल दिलाएपनि दोस्रो हाफ अघि लोरेन्टेले स्पर्सलाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफको सुरुआतसंगै ४७ र ५३ औं मिनेटमा गोल गर्दै स्पेनिस फरवार्ड लोरेन्टेले ह्याट्रिक पुरा गरे । सनले ६० औं मिनेटमा र काइल वाल्कर-पिटर्सले खेलमा थपिएको समयमा गोल गर्दै स्पर्सको जित सहज बनाए । स्पर्सले प्रतियोगिताको क्वाटरफाइनलमा अब स्वान्सीको सामना गर्नेछ ।