विश्वकपका रेफ्री फिक्सिङ गर्ने प्रयासमा प्रतिबन्धित

रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्।

रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप प्रमाण माग गरेको छ।

अल मिर्दासीले अघिल्लो कन्फिडेरेसन्स कपमा पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए। उक्त प्रतियोगितामा पोर्चुगल र मेक्सिकोबीच तेस्रो स्थानको खेलमा उनी मुख्य रेफ्री थिए।

चेल्सी विरुद्ध टोटनह्याम विजयी, आर्सनलको पनि सहज जित

चेल्सी विरुद्ध टोटनह्याम विजयी, आर्सनलको पनि सहज जित

लन्डन (एजेन्सी) – गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे ।

एल्भारो मोराटाको हेडिङ गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफमा क्रिस्टियन एरिक्सनको शानदार प्रहारले पाहुना टोलीलाई खेलमा फर्काएको थियो । दोस्रो हाफमा अलिले दुई गोल गर्दै चेल्सीलाई उसकै घरेलु मैदानमा निराश पारेको थियो ।

त्यस्तै हिजो रातिको अन्य खेलमा आर्सनलले स्टोक सिटीलाई ३-० ले हराएको थियो । खेल ७५ मिनेटसम्म गोलरहित रहे पनि आर्सनलले पुनरागमन गरेको हो । आर्सनलका लागि पियर-एम्रिक अबामेयाङले दुई गोल गरे भने अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटले एक गोल गरे ।

टोटनह्याम ६४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने पाचौंमा रहेको चेल्सीको ५६ र छैटौं स्थानमा रहेको आर्सनलको ५१ अंक रहेको छ ।

‘मेस्सीले खेल्नु पर्थ्यो’– गोटी

अर्जेन्टिना (एजेन्सी)– सुपर स्टार लियोन मेस्सी अर्जेन्टिनाका पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा खेलेनन् । ह्यामस्ट्रिङ समस्याबाट गुज्रेका मेस्सी इटाली र स्पेनसँगको पछिल्लो खेलमा दर्शकमा सिमित भए । स्पेनसँगको खेल ६–१ ले गुमाएपछि अर्जेन्टिनाको चर्को आलोचना भएको छ । स्पेनका कप्तान सर्जियो रामोसले मेस्सी विना अर्जेन्टिना खराब टोली रहेको बताएका थिए ।

अर्जेन्टिनाका महान खेलाडी हिगो गाटीले भने चोटका बावजुद पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट खेलेको भन्दै मेस्सीको आलोचना गरेका छन् । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको टोली स्पेनसँग लज्जस्पद ढंगले हर्दा मेस्सीले स्ट्यान्डबाट हेरेका थिए । मेस्सी खेलको बीचमै उठेर हिडेका थिए ।

अर्जेन्टिनाका पूर्व गोलकिपर गाटीले राष्ट्रिय टोलीमा उपलब्ध हुनका लागि बढी मेहनत गर्नुपर्नेमा जोड दिए । उनले रोनाल्डो त्यो विषयमा गम्भिर रहेको पनि थपे । एउटा टेलिभिजन अन्तवार्ताका क्रममा गोटीले भने, ‘मेस्सीले खेल्नु पथ्र्यो । जनता उनलाई हेर्न चाहन्छन् । रोनाल्डोले विगतमा त्यस्तो गरेका छन् ।’

गोटीले राष्ट्रिय टोली मेस्सीमा मात्र निर्भर नरहेको बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन मेस्सीका कारणले मात्र टोली बन्ने होइन । मलाई त्यस्तोमा विश्वास छैन । गोटीले जस्तो दाबी गरे पनि अर्जेन्टिना र उनका समर्थकले भने रसिया विश्वकपमा मेस्सीबाट ठूलो अपेक्षा राखेको छ ।’

रियलको सहज जित, बार्सिलोना रोकियो

पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे ।

बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा बेलले आफ्नो व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्दै ३ अंक सुनिश्चित गरेका थिए । रियलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो टोलीमा सामेल थिएनन् ।

अर्को तर्फ अग्रस्थानमा रहेको बार्सिलोनाले सेभियासँग २-२ को रोमाञ्चक बराबरी खेल्दै सिजनको अपराजित यात्रा कायम राख्यो । फ्रान्को भाजक्वेज र लुइस मुरियलको गोलमा पछि परेको बार्सिलोनाले खेलको अन्तिमतिर दुई गोल फर्काएको थियो । बार्सिलोनाका लागि ८८ औं मिनेटमा लुइस स्वारेजले गोल गरे भने ८९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल बराबर पारेका थिए ।

३० खेलमा ७६ अंकसहित बार्सिलोना तालिकाको शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोनाको १२ अंक बढि रहेको छ । रियलको भने ३० खेलमा ६३ अंक रहेको छ ।

ट्रान्सफर चर्चा : बार्सा, रियल र पिएसजीको नजरमा सलाह

लिभरपुल (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले जनाएको छ ।

सलाह यस सिजन करियरकै उच्च लयमा छन्। उनले यो सिजन ४३ खेलमा क्लब र राष्ट्रिय टोलीमा गरेर ३७ गोल गरिसकेका छन्। रोमाबाट ३६.९ मिलियन पाउण्डमा लिभरपुल आएका सलाहलाई प्रिमियर लिगमा राख्न यर्गन क्लोपले कीर्तिमानी रकम अस्वीकार गर्नु पर्नेछ।

यहि जनवरी ट्रान्सफर विन्डोमा आफ्ना स्टार खेलाडी फिलिप कौटिन्होलाई १ सय ४५ मिलियन पाउण्डमा गुमाएको लिभरपुलले सलाहलाई पनि क्लबमा राख्न नसक्ने खतरा बढेको हो।सलाहलाई ‘इजिप्टसियन मेस्सी’को उपनामले पनि चिनिने गर्दछ । उनले अहिलेसम्म यो सिजन लिग फुटबलमा लियोनल मेस्सी भन्दा ३ गोलले अगाडि छन् ।

रुसमा हुने विश्वकप नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन्छु- मेस्सी

काठमाडौँ । अर्जेन्टिनाको स्टार खेलाडी लिओनल मेस्सीले रुस हुने विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने दावी गरेका छन् । रुस हुने विश्वकप अर्जेन्टिनाले नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मेस्सीले बताएका छन् ।

मेस्सीले अर्जेन्टिनी टीभीसँग भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’ उनले भने, ‘मेरो सपना छ रुसमा उपाधि जित्ने । मेरो चाहना छ कि ब्राजिलमा जस्तै खेल्ने ।’

बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन् । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए । तर, फेरि टिममा फर्किएका छन् ।

अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । यो पटक रुसमा विश्वकप हुँदै गर्दा मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

मेस्सीलाई सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन् । उनले २१ वर्षको उमेरमा नै बेलोन डी ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरेका थिए । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ ।

पोर्चुगल वर्ष खेलाडीमा रोनाल्डोको ह्याट्रिक

लिस्बोन (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘२०१७ पोर्चुगल वर्ष खेलाडी’ को उपाधि जितेका छन्। ३३ वर्षे पोर्चुगेली फरवार्ड रोनाल्डोको यो लगातार तेस्रो उपाधि हो।

‘क्विनास डी ओरो’ नामक यो उपाधि तीन वर्ष अगाडी सुरु भएयता तीनै पटक रोनाल्डोले जितेका हुन् । उनले यसपटक म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा र स्पोर्टिंङका रुई प्याट्रिसियोलाई पछि पार्दै यो उपलब्धि हात पारेका हुन्। प्याट्रिसियोले कुल मतको १८ प्रतिशत प्राप्त गरेका थिए भने सिल्भाले १७ पाउँदा रोनाल्डोले ६५ प्रतिशत मत पाएका हुन् । प्रशिक्षक, समर्थक र खेलाडीहरुको मतका आधारमा वर्ष खेलाडी चयन गरिन्छ।

पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न समारोहमा यस अवार्ड पाएपछि रोनाल्डोले भने , “यो मेरो मात्र नभएर मेरा सारा सहकर्मीको सफलता हो । २०१७ अविस्मरणीय रह्यो । म यस उपलब्धि मेरा ४ बच्चाहरुलाई समर्पित गर्दछु। ” “तीन महिनामा तीन बच्चाहरु, यो पनि आफैंमा किर्तिमान हो, ” रोनाल्डोले ठट्टा गरे ।

नेयरमार पिएसजीमै रहने सिल्भाको विश्वास

पेरिस (एजेन्सी)– चोटका कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार मैदान बाहिर छन् । तर पनि उनी अर्को सिजन रियल म्याड्रिड जाने सम्भावनाको चर्चा भने केहि महिना यता चलिरहेको छ । उनी मैदान बाहिर हुँदा पनि चर्चा रोकिएको छैन ।

तर, पिएसजीका कप्तान थियागो सिल्भाले भने नेयमार तत्काल कुनै क्लबमा नजाने दाबी गरेका छन् । ब्राजिलियन स्टार सिजनको सुरुवातमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । उनले पिएसजीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

तर, नेयमार पिएसजीमा सन्तुष्ट नरहेको र पुनः स्पेन फर्कन चाहेको चर्चा चलिरहेको छ । क्रिस्टियानो रोनाल्डो रहँदैको अवस्थामा नेयमार भित्राउन रियललाई पनि सजिलो नहुने चर्चा पनि चल्दै आइरहेको छ ।

पिएसजी पनि नेयमार अन्य क्लबलाई बेच्ने पक्षमा देखिदैन । चोट मुक्त हुनका लागि नेयमार अहिले स्वदेशमा उपचार गराइरहेका छन् । नेयमारको अनुपस्थितिमा पनि पिएसजीले लिग १ मा उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । सिल्भालाई भने नेयमार पिएसजीमै रहनेमा विश्वस्त छन् ।

“नेयमार बस्नेमा म निश्चिन्त छु,” सिल्भाले भने, “उनी अहिले चोटमुक्त हुने क्रममा ब्राजिलमा छन् । मलाई लाग्छ अर्को सिजन पनि उनी पिएसजीमै रहनेछन् ।” रियालमा उनका ब्राजिलियन सहकर्मी मार्सेलो र कासिमेरो रहेकाले रियल आउँदा उनलाई सहज हुने पनि मानिएको छ ।

विश्व कप नजिते सन्यास लिने मेस्सीको संकेत

Messi - EsportsKhabar

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अर्जेन्जिनाले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् ।

 

सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना उपाधिबाट विमुख भएको थियो । थप समय सम्म पुगेको विश्व कप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यति मात्र होइन, मेस्सी सम्मिलित अर्जेन्टिना ३ पटक कोपा अमेरिकाको फाइनलमा पराजित भइसकेको छ ।

ला कोनिसासँगको अन्र्तवार्ताका क्रममा मेस्सीले भनेका छन्, ‘यदि हामीले रसिया विश्व कप जित्न सकेनौं भने हामीले राष्ट्रिय टोलीबाट अलग हुनु ठिक हुन्छ । हामी त्यस्तो सच्छौं । रसियामा उपाधि जित्ने सपना मैले देखेको छु ।’

विश्व कपको समूह डीमा अर्जेन्टिनाले आइल्यान्ड, क्रोएसिया र नाइजेरियाको सामना गर्नेछ । राष्ट्रिय टोलीबाट १ सय २३ खेल खेलेका मेस्सीले ६१ गोल गरेका छन् ।

यी हुन् च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुग्न सफल ८ टोली

नियोम (एजेन्सी) – गए राति बार्सिलोनाले चेल्सीलाई ३-० तथा बायर्न म्युनिखले बेसिक्टासलाई ३-१ ले हराउँदै च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेका छन् ।

यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका छन् भने जर्मनीबाट १ टोलीले अन्तिम १६ मा प्रतिनिधित्व गर्दै छन् । यस सिजन फ्रान्सबाट कुनै टोलीले अन्तिम ८ मा स्थान बनाउन सकेन । च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि ड्र शुक्रबार नेपाली समय अनुसार बेलुका ४.४५ बजे हुने छ ।

यस वर्ष क्वाटरफाइनलमा पुग्न सफल टोलीहरु यी हुन्:

१. रियल म्याड्रिड
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: पिएसजी विरुद्ध समग्रमा ५-२ ले विजयी

२ लिभरपुल
राष्ट्र: इंग्ल्यान्ड
अन्तिम १६ नतिजा: पोर्टो विरुद्ध समग्रमा ५-० ले विजयी

३ युभेन्टस
राष्ट्र: इटाली
अन्तिम १६ नतिजा: टोटनह्याम विरुद्ध समग्रमा ४-३ ले विजयी

४. म्यानचेस्टर सिटी
राष्ट्र: इंग्ल्यान्ड
अन्तिम १६ नतिजा: बासेलविरुद्ध समग्रमा ५-२ ले विजयी

५. रोमा
राष्ट्र: इटाली
अन्तिम १६ नतिजा: शाक्तार दोनेस्क विरुद्ध समग्रमा २-२, अवे गोलमा विजयी

६. सेभिया
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: म्यानचेस्टर युनाइटेड विरुद्ध समग्रमा २-१ ले विजयी

७. बायर्न म्युनिख
राष्ट्र: जर्मनी
अन्तिम १६ नतिजा: बेसिक्टास विरुद्ध समग्रमा ८-१ ले विजयी

८. बार्सिलोना
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: चेल्सीविरुद्ध समग्रमा ४-१ ले विजयी