विश्वभरबाट नेपाली क्रिकेटलाई बधाईको ओइरो

काठमाडौँ । बिहिबार नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । जिम्बाब्वेमा जारी विश्व कप क्रिकेट छनौट प्रतियोगितामा पपुआ न्यूगिनीलाई हराउदै एकदिवसीय टोलीको मान्यता पाएपछि संसारभरबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई र स्याबासी पाइरहेको छ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपालले क्रिकेट टिमको चर्चा प्रमुख विषय बनिरहेको छ। देश विदेशका चर्चित व्यक्तिहरू र क्रिकेट सम्बद्ध निकायहरूले नेपालको सफलताको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

नेपाली क्रिकेट टोलीलाई सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड , शेरबहादुर देउवा र बाबुराम भट्टराई सहित कैयौँ अन्यले सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपालको उपलब्धिलाई ऐतिहसिक भन्दै नेपाली खेलाडीहरूले खुशी मनाइरहेको क्षणलाई आफ्नो ट्वीटर र फेसबुक खाताको मुख्य तस्वीर बनाएको छ।

बांग्लादेश र संयुक्त राज्य अमेरिका सहितका देशका क्रिकेट बोर्डहरू नेपाललाई बधाई दिएका छन् । विश्व क्रिकेटमा नाम चलेका कैयौँ खेलाडीहरूले नेपाली टोलीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरू राखेका छन्।

अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सम्बोधन गर्दै ट्वीटरमा आफूलाई खुशी लागेको र यो नेपालको लागि गौरवपूर्ण क्षण भएको उल्लेख गरेका छन्।

त्यसैगरी पाकिस्तानका पूर्व कप्तान इन्जमाम उल हकले नेपाललाई बधाई दिँदै लेखेका छन्, ‘एकदिवसीय मान्यता पाएकोमा नेपाललाई बधाई, कति लोभलाग्दो यात्रा।’

आयरलण्डका चर्चित क्रिकेटर केभीन ओ ब्रायनले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सम्बोधन गर्दै बधाई दिएका छन्। उनले लेखेका छन्, ‘ आफ्नो र नेपालको पहिलो प्रतियोगिताको प्रतीक्षा गरिरहेको हुनेछु।’

सन्दीपको भारतीय व्यवसायिक क्रिकेट लिग आइपिएल टोली दिल्ली डेयरडेभिल्सले पनि एकदिवसीय हैसियतका लागि नेपाललाई बधाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *