नेपालको अब एक दिवसीय खेल खेल्न पाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ ।

नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालको एक दिवसीय मान्यता सुनिश्चित भएको हो । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगबाटै एक दिवसीय मान्यता सुनिश्चित गरेको थियो ।

विश्वकप छनोट प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने थिए । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका थिए । हङकङको पराजयसँगै नेपाल एक दिवसीय मान्यता पाउने तेस्रो राष्ट्र हुन सफल भएको हो ।

एक दिवसीय मान्यता नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धिमध्ये एक हो । अबको ४ वर्षसम्म विश्व क्रिकेट लिग, एसियन कप र इन्टर कन्टिनेन्टल कप जस्ता ठूला प्रतियोगिताहरुमा सहभागी भई नेपालले अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छ । त्यस्तै नेपालले आइसीसी एक दिवसीय वरियतामा पनि स्थान पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *